काठमाडौं । जीवन बीमाको पहुँच ४१.१५ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार साउन मसान्तसम्म कुल जनसंख्याको ४१.१५ प्रतिशतले जीवन बीमा गरेको देखिएको हो ।
यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २७.५१ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ३ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।
म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५० लाख ५९ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेख सहित भने कुल बीमितको संख्या १ करोड २४ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३८.२६ प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.६८ प्रतिशतले मात्रै जीबनबीमा पोलिसी किनेको बीमा समितिले जनाएको छ ।
साउन मसान्तसम्ममा बीमा कम्पनीले कुल १९ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा ०.३४ प्रतिशतले घटेको हो ।
एक वर्षमा जीवन बीमालेख संख्या ५२.४३ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ८५ लाख ८७ हजार थियो । अहिले यस्तो संख्या ५२.४३ प्रतिशतले बढेर १ करोड ३० लाखमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ८.३५ प्रतिशतले घटेको छ । साउन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ लाख २१ हजार वटा पोलिसी जारी गरेका छन् ।



