काठमाडौं । बैंक तथा वित्तीय संस्था तथा बजारमा भएको पैसा सरकारी खातामा थुप्रिन थालेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार साउन महिनामा बजारमा चलनचल्तीमा रहेको एवं बैंक तथा वित्तीय संस्थाको नाममा रहेको निक्षेप घटेर सरकारी खातामा रकम थुप्रिएको हो ।
साउन मसान्तमा सरकारी खातामा कायम रहेको मौज्दात २ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ७४ अर्ब रुपैयाँले बढी हो ।
यसरी सरकारी खातामा रकम जाँदा बैंक तथा वित्तीय संस्थाको नाममा राष्ट्र बैंकको नाममा भएको रकम ४७ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो महिना १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर १ खर्ब ५२ अर्बमा झरेको हो ।
उता बजारमा चलनचल्तीमा पठाइएको नोटमध्ये यो महिना १७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा फर्किएको छ । यस्तो रकम साउन मसान्तमा ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ ।
यो महिना बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिएको सापटीमध्ये झण्डै १० अर्ब रुपैयाँ फिर्ता गरेका छन् । यस्तो सापटी २ खर्ब ७० अर्बबाट घटेर २ खर्ब ६० अर्बमा झरेको छ ।



