काठमाडौं । बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने अन्तिम चरणमा पुगेको छ । ४ वर्षदेखि संसदमा रहेको बीमा प्राधिकरणसम्बन्धी विधेयक संसदीय प्रक्रिया पूरा गरि पारित हुने चरणमा पुगेको हो ।
प्रतिनिधिसभामा उत्पत्ति भइ पारित भएको उक्त विधेयक आज राष्ट्रिय सभाबाट समेत पारित हुँदैछ । राष्ट्रियसभाबाट पारित भएसँगै सन्देशसहित उक्त विधेयक प्रतिनिधिसभामा फर्किनेछ ।
उक्त विधेयकलाई सभामुखले प्रमाणित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि हालको बीमा समिति स्वतः बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।
२०२४ सालमा स्थापना भएको बीमा समिति सुरुमा विकास समिति ऐन अन्तर्गत स्थापित थियो । २०४९ सालमा बीमा विधेयक आएसँगै समिति स्वायत्त संस्था बनेको थियो । यद्यपि यसलाई बीमा क्षेत्रको निर्णय गर्ने स्वायत्त अधिकार थिएन ।
नयाँ प्राधिकरणलाई बीमा क्षेत्रको सम्बन्धमा नियमन तथा कानून निर्माण गर्ने पूर्ण अधिकार दिइएको छ । विधेयकले पूर्णता पाएपछि समितिको संरचनात्मक रुपान्तरणको प्रक्रिया सुरु हुने बीमा समितिले जनाएको छ ।
हाल बीमा समिति अन्तर्गत जीबन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, सर्भेयर, अभिकर्ता लगायतको नियमन हुँदै आएको छ ।



