काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्न लाइसेन्स खुलाएको छ । शुक्रबार ३५ लिने सूचना जारी गर्दै समितिले यस्तो कम्पनी स्थापना गर्न इच्छुक कम्पनीहरुलाई उक्त समयभित्र आवेदन दिन भनिएको छ ।
समितिले बढीमा ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने उल्लेख गरेको छ । दुवै प्रकारको कम्पनीको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।
यसरी स्थापना हुने जीवन तथा सनर्जीवन लघुबीमा कम्पनीका लागि एउटै समूहले छुट्टाछुट्टै आवेदन समेत दिन सक्नेछन् । यसरी स्थापना हुने कम्पनीको काठमाडौं उपत्यकाभन्दा बाहिर रहनेगरी प्रस्ताव गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसरी आवेदन दिँदा आवेदकले लघुबीमा व्यवसाय सञ्चालन गर्न सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन, संस्थापकहरुको शेयरहिस्सा खुल्ने विवरण अनिवार्य रुपमा पेश गर्न भनिएको छ ।
तोकिएको भन्दा धेरै प्रस्ताव आएमा समितिले मूल्यांकनका आधारमा तोकिएको संख्यामा मात्रै लाइसेन्स दिने उल्लेख गरेको छ । साथै, हालसम्म समितिमा लघुबीमा कम्पनीका लागि आएका सबै प्रस्तावहरुलाई समेत रद्द गरिएको समितिले जनाएको छ ।
लाइसेन्स खुलाउने प्रयोजनकै लागि केही दिनअघि समितिले लघुबीमा कम्पनी स्थापनासम्बन्धी निर्देशिका ल्याएको थियो । सोही निर्देशिका बमोजिम अहिले लाइसेन्सको लागि प्रस्ताव आह्वान गरिएको हो ।




