काठमाडौं । सहकारी विभागले घाटामा गएका सहकारीहरुको कर्मचारीको सुविधा कटौती गर्न निर्देशन दिएको छ । मंगलबार विभागले निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो ।
साथै यस्ता सहकारीहरुले घाटामा रहुन्जेल लाभांश वितरण नगर्न, सञ्चालक तथा कर्मचारीको सुविधा कटौती गर्न, प्रशासनिक खर्च घटाउन समेत विभागले निर्देशन दिएको छ ।
त्यस्तै, विभागले सहकारीका सदश्यहरुलाई नियतवश प्रवाह गरिएका सूचनाको पछि नलागी वास्तविक सूचना लिएर मात्रै अगाडि बढ्न अनुरोध गरेको छ । मासिक र वार्षिक विवरण समयमै नियामक निकायमा पठाउन, आवश्यक वित्तीय सूचनाहरु कोपोमिस प्रणालीमा प्रविष्ट गर्न विभागले निर्देशन दिएको छ ।
सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापकले संस्थाको नियमित कारोबार, तरलता, सम्पत्ति तथा दायित्वको नियमित जाँचबुझ गर्नुपर्ने विभागले जनाएको छ ।



