काठमाडौं । असार महिनामा ९ अर्ब ५४ करोड रुपैयाँले अमेरिकी डलरको सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विदेशी सञ्चिति रकम गत वर्षको तुलनामा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको हो । यस्तो रकम गत वर्ष ११ अर्ब ७५ करोड रहेको थियो ।
तथ्यांक अनुसार सो रकमले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । असार मसान्तमा कुल विदेशी वनिमय सञ्चिति १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६ सय ६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४ सय ५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो
असार मसान्तसम्मा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।



