काठमाडौं । एसइई परीक्षाको नतिजा दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ ।
सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो ।
अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ ।
बोर्डले जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरे पनि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ ।
यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारीमा छन् ।
गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।



