काठमाडौं । ग्लोबल आईएई बैंकको नाफा ५ अर्ब २० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकले २५ प्रतिशत नाफा बढाएर साे बराबर खुद नाफा कमाएकाे हो ।अघिल्लाे आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा बैंकले १० अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १७.५२ प्रतिशतले बढी हो । गत वर्ष यस्तो आम्दानी ९ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, सञ्चालन नाफामा बैंकले ७ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको तुलनामा यो २६.९० प्रतिशत बढी हो । बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्ममा बैंकले २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
असार मसान्तसम्म बैंककाे प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, स्प्रेडदर ४.२६ प्रतिशत छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ११ पैसा रहेको छ।



