काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार २२ गते सो बराबरको निक्षेप बैंकहरुमा थपिएको हो ।
राष्ट्र बैंकका अनुसार असार २१ गते ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको निक्षेप असार २२ गते एकैदिन १४ अर्ब रुपैयाँले बढेर ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि १३ अर्ब रुपैयाँले बढेको छ । असार २१ गते ४४ खर्ब ५७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप असार २२ गते १३ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ ।
सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले बढेको छ । असार २१ गते ५ खर्ब ९० अर्ब रुपैयाँ रहेको निक्षेप २२ गते हुँदा २ अर्ब रुपैयाँले बढेर ५ खर्ब ९२अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, असार २२ गते बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ३ अर्ब रुपैयाँ झरेको छ । त्यसैगरि वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ । भने सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ ।
असार २२ गते बैंकहरुको सीडी रेसियो पनि घटेको छ । असार २१ गते ८८.३५ प्रतिशत रहेको सीढी रेसियो २२ गते ८८.०६ प्रतिशतमा झरेको छ । त्यस्तै सोही समयमा बैंकहरुको अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



