काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बाँडफाँड हुने भएको छ ।बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको आईपिओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि २१ गतेसम्म निष्काशन भएको आईपिओमा २० लाख ५ हजार ७ सय ४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७ सय ७० कित्ताको लागि आबेदन परेको छ। जसका कारणले गर्दा कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले पाउने छन् । यी मध्ये ३ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।
बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो।



