images
images

रसुवा र नुवाकोटका मुख्य राजमार्ग अझै अवरुद्ध, परेवाटार–मास्टार सडकमा आजदेखि एकतर्फी यातायात


  • 142
    SHARES
  • २०८३ भाद्र २७ गते शनिबार

    रसुवा र नुवाकोटका मुख्य राजमार्ग अझै अवरुद्ध, परेवाटार–मास्टार सडकमा आजदेखि एकतर्फी यातायात

    काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुने क्रम अझै कायमै छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न राजमार्गका आठ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

    प्रहरीका अनुसार रसुवाका मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छन्। भदौ १० गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा हालसम्म यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ–स्याफ्रुबेंसी तथा नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित अरनिको राजमार्ग भदौ २५ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खसेपछि भदौ २६ गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा भने रातिको समयमा यातायात सञ्चालन बन्द गरिएको छ। उक्त सडकखण्ड भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म रातिको समयमा बन्द रहने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

    यसैबीच, भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेंसी पुग्न वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन गरिने भएको छ।

    सडक साँघुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था गरेको हो।

    प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ सवारी सञ्चालन हुनेछन्। धादिङबेंसीतर्फ जाने सवारीले दिउँसो १२ बजेसम्म मास्टारको पुल पार गरिसक्नुपर्नेछ।

    त्यसैगरी, दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ सवारी सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले बेलुका ७ बजेसम्म परेवाटार पार गरिसक्नुपर्ने प्रशासनले जनाएको छ।

    साँघुरो सडकमा सवारीको चाप व्यवस्थापन गर्न समय निर्धारण गरिएको भन्दै प्रशासनले तोकिएको समयअनुसार मात्रै उक्त सडकखण्डमा आवागमन गर्न आग्रह गरेको छ।

    May be a graphic of text


    images
    images

    Logo