काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीले नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।
प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव फेला परे पनि हालसम्म उनीहरूको सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या भने आफन्त तथा परिवारजनबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा कायम गरिएको हो।
बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नम्बर १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रशासनले जनाएको छ।
बाढीले जिल्लाका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको प्रशासनले जनाएको छ।
यस्तै, आठ सरकारी कार्यालयका भवन र कृषि विकास बैंकको भवनमा समेत क्षति पुगेको छ। तीन जलविद्युत् गृह तथा चार विद्यालयमा आंशिक क्षति पुगेको छ। प्रभावित विद्यालयमध्ये एउटा सरकारी र तीनवटा निजी रहेका छन्।
सडक तथा पुल संरचनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। हालसम्म १५ वटा पक्की पुल र नौवटा झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन र आवतजावत सहज बनाउन चुनौती थपिएको छ।
बाढीले केन्द्रीय कारागार नुवाकोटको संरचनामा समेत क्षति पुर्याएको छ। कारागारका खम्बा र कम्पाउण्ड पर्खाल बगाउनुका साथै केही भाग पुरिएको र कार्यालय भवनको भुइँतल्लासमेत बाढीले पुरेको प्रशासनले जनाएको छ। कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित रहेका छन्।
उद्धार कार्यलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ। हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित तथा विस्थापित नागरिकलाई जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका आश्रयस्थलमा राखिएको छ। हालसम्म ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। कतिपय प्रभावित नागरिक आफन्तको घरमा आश्रय लिइरहेकाले आवश्यकताअनुसार उनीहरूलाई समेत आश्रयस्थलमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संकटको यस घडीमा धैर्य कायम राख्दै सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले अनुरोध गरेको छ।
उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकलाई समन्वय र सहयोगका लागि प्रशासनले अपिल गरेको छ।
उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै प्रभावित नागरिकको खोजी, उद्धार, उपचार तथा आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



