काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बतस्थित केरुङ नाकाको चीनतर्फ गएको बाढी र पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् ।
चिनियाँ अधिकारीहरूका अनुसार विपद्मा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि व्यापक अभियान सञ्चालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ ।
समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९:३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त मुख्य क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिएको हो ।
स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै ठूलो संख्यामा जनशक्ति परिचालन गरी घाइतेको उद्धार तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ ।
नेपाल र चीनलाई जोड्ने प्रमुख व्यापारिक नाकामध्ये एक केरुङ क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
हाल प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।



