images
images

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो


  • 104
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

    खोटाङ । धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो ।

    गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए । “दुर्घटनाका सबै घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उनले भने, “पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिसकेको छ । घाइते १४ जनाको यही उपचार भइरहेको छ ।”

    अस्पतालले रेफर गरेका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विशन राईले जानकारी दिए । “दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमो रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”

    घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भक्तजन चढेको ट्याक्टर दुर्घटना दिउँसो २ः०० बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    ट्याक्टर दुर्घटनालगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजन चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

     


    images
    images

    Logo