images
images

रसुवाको भीषण बाढीले विद्युत्, सञ्चार र भौतिक पूर्वाधारमा व्यापक क्षति, नुवाकोट र धादिङसम्म असर


  • 239
    SHARES
  • २०८३ भाद्र १० गते बुधबार

    रसुवाको भीषण बाढीले विद्युत्, सञ्चार र भौतिक पूर्वाधारमा व्यापक क्षति, नुवाकोट र धादिङसम्म असर

    काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना, सञ्चार पूर्वाधार, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, सडक र पुललगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ । बाढीको प्रभाव रसुवाबाट नुवाकोट हुँदै धादिङसम्म देखिएको छ भने प्रभावित क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध वा प्रभावित भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र प्रभावित भएका छन् । त्यस्तै त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न विद्युत् वितरण संरचनामा समेत क्षति पुगेको छ ।

    विद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् सेवा नियमित गर्न प्राविधिक टोली परिचालन गरी हरसम्भव प्रयास भइरहेको जनाएको छ ।

    बाढीले जलविद्युत् संरचनासँगै घर, सडक, पुललगायतका अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

    नुवाकोटमा बजार र बस्ती डुबानमा

    रसुवा हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्र प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार वेत्रावती बजारमा सबैभन्दा बढी क्षति पुगेको छ ।

    त्रिशूली बजार तथा देवीघाट बजार डुबानमा परेका छन् भने सेन्ट्रल जेलसमेत प्रभावित भएको छ । विदुर नगरपालिकाका विभिन्न वडाका तटीय क्षेत्र उच्च जोखिममा परेका छन् ।

    उपमेयर प्रभा बोगटीका अनुसार वडा नम्बर ४ को सिमचौर क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। एक–दुई वर्षअघि मात्र निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसमेत बाढीले बगाएको छ ।

    वडा नम्बर ७ को सोले बजार, चतेपानी र अकरे, वडा नम्बर १० को वेत्रावती बजार, वडा नम्बर १ को त्रिशूली, ढुङ्गे र इनारपाटी तथा वडा नम्बर ५ को देवीघाट र तल्लो तिरखानी क्षेत्र पनि प्रभावित भएका छन् ।

    हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

    धादिङ जोड्ने पुल बगायो

    बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पुलसमेत बगाएको छ। उक्त पुल पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने महत्वपूर्ण संरचना हो ।

    बाढीका कारण विभिन्न स्थानमा पानीको सतह बढ्दै गएपछि राजमार्गको यात्रा पनि जोखिमपूर्ण बनेको छ । केही स्थानमा मानिसहरू फसेको जानकारी प्राप्त भएपछि उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको छ ।

    बैंकका शाखा कार्यालय पनि प्रभावित

    बाढी प्रभावित क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत क्षति पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायतका बैंकका शाखा कार्यालय रहेका थिए ।

    टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण बैंकका शाखा र कर्मचारीको अवस्थाबारे यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको संघले जनाएको छ । संघले आकस्मिक बैठक गरी क्षतिको विवरण संकलन तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय थालेको छ ।

    टेलिकमका ७ टावर र अप्टिकल फाइबरमा क्षति

    बाढीका कारण नेपाल टेलिकमको सञ्चार पूर्वाधारमा पनि क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा गरी सातवटा टावरमा भौतिक क्षति पुगेको छ ।

    बाढीले गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा समेत क्षति पुर्‍याएको छ । विद्युत् आपूर्ति अवरुद्ध र सञ्चार संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ ।

    टेलिकमले सञ्चार सेवा पूर्ण रूपमा बन्द हुन नदिन वैकल्पिक प्रविधिको प्रयोग गरिरहेको जनाएको छ । त्रिशूलीसम्म फाइबर सेवा सञ्चालनमा रहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा माइक्रोवेभ रेडियो प्रविधिमार्फत नेटवर्क सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

    टेलिकमको प्राविधिक तथा आकस्मिक व्यवस्थापन टोली प्रभावित क्षेत्रमा खटिएको छ । साथै, बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई एसएमएसमार्फत सचेतनामूलक सूचना पठाएर सतर्क रहनसमेत आग्रह गरिएको छ ।

    बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् र सञ्चार सेवा पुनःस्थापनाको काम तीव्र पारिएको सम्बन्धित निकायहरूले जनाएका छन् ।

    1-1787725930.jpeg


    images
    images

    Logo