काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजी मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । बाजुरा जिल्लामा समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजीसँगै फोरजी सेवा विस्तार गरेको हो । टेलिकमका अनुसार भदौ ८ गतेदेखि उक्त क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
अत्यन्तै विकट तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा टेलिकम सेवा विस्तारका लागि प्राविधिक टोलीसहित नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक उपकरण तथा जडान सामग्री ढुवानी गरिएको थियो । उच्च हिमाली क्षेत्रमा प्रतिकूल परिस्थितिका बीच प्राविधिक टोलीले टावर स्थापना तथा सेवा सञ्चालनको काम सम्पन्न गरेको टेलिकमले जनाएको छ ।
मोबाइल सेवा सञ्चालनमा आएसँगै त्रिवेणी नगरपालिकाका वडा नम्बर ५ र ६, बडीमालिका नगरपालिकाका वडा नम्बर ५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटनलगायत क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन् ।
टावर निर्माण तथा सेवा विस्तार कार्यमा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी र सिभिल इन्जिनियर दीपक भट्टलगायतको प्राविधिक टोली संलग्न रहेको थियो ।
उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तार भएसँगै स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शन गर्न आउने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ। दुर्गम क्षेत्रमा आकस्मिक अवस्थामा सम्पर्क गर्न तथा पर्यटक र तीर्थयात्रीको सुरक्षामा समेत यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार दुर्गम तथा सञ्चार पहुँचबाट टाढा रहेका क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा बडीमालिका क्षेत्रमा समेत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।



