भक्तपुर । नेपाली महिलाको महान् पर्व हरितालिका तीजको रौनकले शनिबार भक्तपुरको राधेराधेमा फरक दृश्य देखियो । रातो पहिरनमा सजिएका महिलाहरू तीजका गीतमा नाचिरहेका थिए भने उनीहरूसँगै नेपालका लागि थाइल्याण्डका राजदूत डोन्नाविट पोल्सावट पनि नेपाली गीतको तालमा झुम्दै थिए । रोयल थाई हस्पिटालिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा राजदूत पोल्सावटको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नेपाली संस्कृति र परम्पराप्रति चासो देखाउँदै उनले नेपाली गीत तथा सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुका साथै सहभागीहरूसँगै नृत्यमा समेत सहभागी भए ।
कार्यक्रममा बोल्दै राजदूत पोल्सावटले नेपाली धर्म, संस्कृति र चाडपर्वको विशिष्ट पहिचान रहेको बताए । उनले नेपाली समाजको मौलिक संस्कृति नै नेपालको महत्वपूर्ण पहिचान भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई थप मजबुत बनाउने धारणा व्यक्त गरे । नेपाल र थाइल्याण्डबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै देशका नागरिकबीच सांस्कृतिक ज्ञान र अनुभव आदानप्रदानका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाली लोकसंस्कृति झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सहभागी महिलाहरू तीजका गीतमा रमाइरहँदा राजदूत पोल्सावटसमेत नेपाली सांस्कृतिक माहोलमा घुलमिल भएका थिए । तीजको अवसर पारेर आयोजित कार्यक्रममा नेपाली तथा थाइल्याण्डका विभिन्न परिकारसमेत राखिएको थियो । दुवै देशका अर्गानिक तथा परम्परागत खानाका परिकारमार्फत सांस्कृतिक तथा खाद्य विविधता प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृति, परम्परा र खानाका परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्नेछ । नेपाली उत्पादनको प्रवर्द्धनसँगै विदेशी नागरिकलाई नेपाली संस्कृतिबारे नजिकबाट जानकारी दिने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको हो ।हरितालिका तीज नेपाली महिलाले विशेष उत्साहका साथ मनाउने पर्व हो । भगवान् शिव र माता पार्वतीको पूजा तथा आराधना गर्ने यस पर्वमा महिलाहरू व्रत बस्ने, दर खाने, रातो तथा हरियो पहिरन लगाउने र तीजका गीतमा नाचगान गर्ने गर्छन् ।

रोयल थाई हस्पिटालिटीले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । यस वर्षको कार्यक्रममा थाइल्याण्डका राजदूतको सहभागिताले नेपाली तीजको सांस्कृतिक रौनकमा कूटनीतिक रंगसमेत थपिएको सहभागीहरूले बताएका छन् ।




