काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रीहरूले प्रदेश प्रमुख नजिर मियाँसमक्ष र राज्यमन्त्रीहरूले मुख्यमन्त्री खगराज भट्टसमक्ष शपथ लिएका छन्।
मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकासमन्त्री र खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त गरेका थिए।
त्यस्तै, जानकी कुँवरलाई भौतिक पूर्वाधार राज्यमन्त्री र इन्दिरा गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टीबाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास तथा दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए। जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो।
नयाँ नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।



