काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर–२०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकका लागि नयाँ तथा परिमार्जित प्याकेज सार्वजनिक गरेको छ । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले प्रेस विज्ञप्ती जारी गर्दै केही नयाँ प्याक थप्दै लोकप्रिय सेवालाई थप आकर्षक बनाएको जानकारी गराएका छन् ।
टेलिकमले पहिलोपटक पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँ का नयाँ प्याक सञ्चालनमा ल्याएको हो । ३७३ रुपैयाँको प्याकमा ३० दिनका लागि ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा एसएमएस उपलब्ध हुनेछ। त्यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा एसएमएस समावेश गरिएको छ ।
कम्पनीले लोकप्रिय सजिलो अनलिमिटेड पोस्टपेड प्याकलाई पनि थप सुविधायुक्त बनाएको छ । ६९९ रुपैयाँमा दैनिक २ जीबीका दरले ६० जीबी डाटा, अनलिमिटेड अल–नेट भ्वाइस र २०० एसएमएस उपलब्ध हुनेछ । त्यसैगरी ७९९ रुपैयाँमा ३०० जीबी, ९९९ रुपैयाँमा ४५० जीबी, १,४९९ रुपैयाँमा ५०० जीबी डाटा तथा १,९९९ रुपैयाँको एक्जिक्युटिभ प्याकमा अनलिमिटेड डाटा, अनलिमिटेड भ्वाइस र ५०० एसएमएस सुविधा उपलब्ध हुनेछ ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डाटा प्याक थपिएको छ । अब ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी तथा १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, ९९९ रुपैयाँको सजिलो अनलिमिटेड प्याकमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३०० एसएमएस उपलब्ध हुनेछ भने १,४९९ रुपैयाँको प्याकमा ५०० जीबी डाटा र ३५० एसएमएस सुविधा रहनेछ ।
यसैबीच, कम्पनीले स्वतः नवीकरण हुने नमस्ते रिकरिङ ६९९ प्याक पनि थप गरेको छ भने कर्पोरेट युजर ग्रुप (CUG) का लागि नयाँ प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल टेलिकमले नमस्ते क्रेडिट (सापटी) सेवामा समेत परिमार्जन गरेको छ । साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
मनसुन अफर–२०८३ साउन १२ गतेदेखि लागू भएको छ । ग्राहकले *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।



