images
images

असार महिनामा सरकारले खर्चियो २ खर्ब २७ अर्ब रुपैयाँ


  • 430
    SHARES
  • २०८२ आषाढ ३१ गते मंगलबार

    असार महिनामा सरकारले खर्चियो २ खर्ब २७ अर्ब रुपैयाँ

    काठमाडाैं । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र सरकारले २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार असार १ गतेदेखि ३० गतेसम्मको ३० दिनमा यो रकम खर्च गरिएको हो ।

    आर्थिक वर्षको अन्तिम महिनामा हुने अत्यधिक खर्चबारे अर्थविद्हरूले निरन्तर प्रश्न उठाउँदै आएका छन् । असारमा मात्रै सरकारले चालू शीर्षक (जस्तै, कर्मचारी तलब, भत्ता, गोष्ठी) मा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, पुँजीगत खर्चतर्फ ७० अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ ।

    अघिल्लो आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । तीमध्ये सरकारले हालसम्म १५ खर्ब १५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

    भोलिदेखि चालु आर्थिक वर्ष समाप्त हुँदैछ र बिहीबार (साउन १ गते) देखि आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा आउनेछ । यो नयाँ बजेट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संसद्मा पेश गरेका थिए, जसको कुल आकार १९ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

    नयाँ बजेटमार्फत सरकारले आर्थिक गतिविधि बढाउने, निजी क्षेत्रको लगानी र रोजगारीका अवसर विस्तार गर्ने, पूर्वाधार योजना समयमा सम्पन्न गर्ने र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।


    images
    images

    Logo