काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि सम्पत्ति करको आधारमा जग्गाको मूल्य निर्धारण गरेको छ । महानगरले जारी गरेको आर्थिक ऐन अनुसार, काठमाडौं महानगर क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा दरबारमार्ग क्षेत्रमा पर्छ, जसको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।
यस्तै मूल्य माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल हल, कान्तिपथ, जमल, घण्टाघर–कमलादी, रानीपोखरी, वीर अस्पताल, वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर क्षेत्रका मुख्य सडक दायाँबायाँका क्षेत्रहरूमा पनि लागु हुन्छ ।
त्यस्तै, ठमेल–इन्द्रचोक, केशरमहल गेटदेखि क्षेत्रपाटी हुँदै तीनधारा पाठशालासम्मका क्षेत्रमा समेत प्रतिआना ५० लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । महेन्द्र सालिकदेखि काठमाडौं प्लाजा, शहीदगेट, सुन्धारा, नयाँ सडक, न्यूरोड, खिचापोखरी, धरहरा क्षेत्रहरूमा पनि यस्तै उच्च मूल्य तोकिएको छ ।
यसका अतिरिक्त पुतलीसडक, बागबजार, रत्नपार्क आसपासको मूलसडकसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको छ । खिचापोखरी दक्षिण, गणबहाल र भोटेबहाल क्षेत्रको जग्गा ३६ लाख रुपैयाँ, लैनचौर–पानीपोखरी–नारायणगोपाल चोकसम्म ३२ लाख रुपैयाँ तथा गोशाला–धोबीखोलाको चक्रपथ क्षेत्रको जग्गा ३० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ ।
महानगरले निर्धारण गरेको मूल्य अनुसार जग्गाको दर न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ प्रतिआना सम्म छ । यद्यपि, व्यवहारिक रूपमा चलनचल्तीको बजार मूल्य भने अझै उच्च देखिन्छ ।



