images
images

ललितपुर महानगरको बजेट खर्च ६८.१४ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत


  • 481
    SHARES
  • २०८२ आषाढ २८ गते शनिबार

    ललितपुर महानगरको बजेट खर्च ६८.१४ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत

    काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्ममा ६८.१४ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख चिरिबाबु महर्जनले चालु वर्षको वित्तीय प्रगति र आगामी वर्षको योजना तथा बजेटबारे जानकारी गराएका हुन्।

    उपलब्ध तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६०.६२ प्रतिशत र चालू खर्च ८५.३२ प्रतिशत पुगेको छ। यस्तै, महानगरले राजस्व संकलनमा ७५ प्रतिशत लक्ष्य हासिल गरेको छ भने लेखा परीक्षणमा जम्मा ०.५२ प्रतिशत मात्र बेरुजु देखिएको छ।

    संस्थागत क्षमताका हिसाबले पनि महानगरले राम्रो प्रगति गरेको जनाएको छ। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.५ प्रतिशत अंक प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्याङ्कनमा ९९.५ प्रतिशत अंक हासिल गरेको छ। त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा ७४.७१ प्रतिशत अंक प्राप्त भएको छ।

    महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, र योजना तर्जुमा दिग्दर्शनअनुसार आवश्यक प्रक्रिया पूरा गरेको बताएको छ। यस क्रममा राजस्व परामर्श समितिबाट राजस्वको प्रक्षेपणसहितको विवरण पेश गरिएको थियो भने स्रोत अनुमान र बजेट सीमा निर्धारण समितिको बैठकमार्फत बजेटको सीमा तय गरिएको हो।

    आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। यसमध्ये पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ (६०.३२%), प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार रुपैयाँ (१७.७९%) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानका लागि १ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ (२१.८९%) छुट्याइएको छ।

    क्षेत्रगत रूपमा हेर्दा कुल बजेटको ६६ प्रतिशत पूर्वाधार विकासमा लगानी गरिने छ। त्यसअन्तर्गत, ५८ प्रतिशत पूर्वाधार निर्माण तथा सहरी विकास, ६ प्रतिशत सम्पदा संरक्षण, र ६ प्रतिशत राजकुलो, इनार, पोखरी तथा हरियाली प्रवर्द्धनमा खर्च गरिनेछ।

    त्यस्तै, सामाजिक विकासका लागि २८ प्रतिशत बजेट छुट्याइएको छ। यसमा स्वास्थ्यका लागि १० प्रतिशत, शिक्षा ८ प्रतिशत, युवा, खेलकुद तथा रोजगारी ५ प्रतिशत र लक्षित कार्यक्रमहरूमा ५ प्रतिशत विनियोजन गरिएको छ।

    विपद् व्यवस्थापनका लागि ६ प्रतिशत र सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत बजेट छुट्याइएको महानगरले जनाएको छ।

    महानगरपालिकाको सातौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत ३४ क्षेत्र समेटेर ३८८ वटा नीति निर्धारण गरिएका छन्।


    images
    images

    Logo