images
images

सार्जजनिक ऋण पौने २७ खर्ब नाघ्यो, जीडीपीको ४६.९१ प्रतिशत


  • 531
    SHARES
  • २०८१ चैत्र ६ गते बुधबार

    सार्जजनिक ऋण पौने २७ खर्ब नाघ्यो, जीडीपीको ४६.९१ प्रतिशत

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सार्वजनिक ऋण दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको छ । योसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

    चालु आर्थिक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। त्यसयताको ८ महिनामा थप २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ ऋण बढेको तथ्यांकले देखाएको छ ।

    चालु आर्थिक बर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो ।  यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । 

    तिर्न बाँकी सार्वजनिक ऋणमध्ये फागुनसम्म आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड (जीडीपीको २३.०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३.८५ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

    यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ ।

    जीडीपीको अनुपातमा फागुनसम्मको ऋण सेवा खर्च ३.५४ प्रतिशत हो । चालु आर्थिक वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो पुँजीगत खर्चभन्दा धेरै हो । पछिल्लो ८ महिनामा सरकारले १ खर्ब ७१ अर्ब ४५ करोड रुपैयाँ आन्तरिक ऋण तथा ३० अर्ब २७ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।

    सरकारले फागुन मसान्तसम्म ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ राजस्व उठाउँदा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।


    images
    images

    Logo