images
images

चालु आर्थिक बर्षमा सहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत


  • 498
    SHARES
  • २०८१ चैत्र ५ गते मंगलबार

    चालु आर्थिक बर्षमा सहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत

    काठमाडौं । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मंगलबार मन्त्रालयको चालु आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

    चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ । संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ अर्थात् १७.९३ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार विभिन्न कार्यक्रमहरूको कार्यान्वयन क्रम जारी छ । हालसम्म ३ हजार ७ सय १६ नयाँ कार्यक्रमहरूमध्ये १ हजार ६ सय २३ वटामा बोलपत्र आह्वान भइसकेको छ । तीमध्ये १ हजार ९८ वटामा ठेक्का सम्झौता भई १ सय २४ वटाको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

    बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरुमध्ये २८८ वटा कार्यक्रमहरु बहुवर्षीय स्वीकृतिको लागि प्रश्तावित कार्यक्रमहरु हुन् भने ८० वटा कार्यक्रमहरु संशोधनका लागि प्रश्तावित कार्यक्रमहरु रहेकाे मन्त्रालयले जनाएको छ । संशोधनका लागि प्रश्तावित ८० वटा कार्यक्रमहरुमध्ये ४४ वटा संशोधन गरी आइसकेको र बाँकी संशोधन हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ५९ वटा पुराना तथा बहुवर्षीय स्वीकृत कार्यक्रमहरुमध्ये चालु आर्थिक वर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरु सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

    यस्तै, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएको छ । स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रुपले दिने उद्देश्यका साथ ६८ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको जनाइएकाे छ । १२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणधीन अवस्थामा रहेको छ । यस आर्थिक वर्षमा १ हजार ७ सय २३ हेक्टर सिञ्चित क्षेत्रफल सिञ्चित गर्ने उद्देश्य रहेकोमा साना सिंचाई कार्यक्रम कार्यान्वयन अन्तर्गत ६७८ हेक्टर क्षेत्रफल सिंचाई सुविधा पुगेको जनाइएकाे छ ।

    वागमती सुधार आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा २ सय मिटर नदी, तटबन्ध, ३ सय ५० मिटर सडक कालोपत्रे र १ सय ५० मिटर मुख्य ढल निर्माण भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप प्यारापिट निर्माण कार्य र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भइ २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढिरहेको जनाइएकाे छ ।

    हालसम्म भैँसेपाटीस्थित मन्त्रीनिवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइ बाँकी निर्माण कार्य भइरहेको र चण्डीदल गणको लागि भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आइसकेको मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo