images
images

सरकार र उद्योगीबीच ग्यासको कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता (सहमतिका बुँदासहित)


  • 598
    SHARES
  • २०८१ फाल्गुण २० गते मंगलबार

    सरकार र उद्योगीबीच ग्यासको कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता (सहमतिका बुँदासहित)

    काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच पाँच बुँदे सहमति भएपछि संघले आन्दोलन फिर्ता लिएकाे छ । मंगलबार वार्तापछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्यमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको छ । 

    कमिसन बढाउने सहमति भएपनि ग्यासको बजार मूल्य भने यथावत रहने छ ।  ग्यासको मूल्य अहिले प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ छ । 

    पाँच बुँदे सहमतिसँगै आन्दोलन फिर्ता लिइएको संघले जनाएकाे छ ।

    पाँच बुँदे सहमति: 

    १. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।

    २. निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने ।

    ३. निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।

    ४. निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने ।

    ५. नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने ।


    images
    images

    Logo