काठमाडौं । नेपाल सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । तीमध्ये ४५ दिन सार्वजनिक र ५२ दिन शनिवार बिदा परेको छ ।
सरकारले नयाँ वर्ष, चण्डी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार, छठ पर्व, धान्यपूर्णिमा, क्रिसमस डे, तमु ल्होछार, माघे संक्रान्ति, सोनाम ल्होछार, महाशिवरात्रि, ग्याल्पो ल्होछार, इदउल फित्र, वकर इद, फागु पूर्णिमा, तथा रामनवमी जस्ता पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार १३ दिन पर्व बिदा, ३ दिन सम्बन्धित धर्मसंस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेष, २ दिन महिला कर्मचारी, १ दिन शिक्षण संस्था, ४ दिन काठमाडौं उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सार्वजनिक दिवस, १ दिन अपाङ्गता भएका कर्मचारीलाई, २ दिन सार्वजनिक जन्म जयन्ती, ३ दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदा हुने पर्वमा वैशाख १ गते नयाँ वर्ष, चण्डी र वैशाख पूर्णिमा, साउन २४ गते जनैपूर्णिमा, ३१ गते कृष्णजन्माष्टमी, असोज ६ गते घटस्थापना, असोज १३ देखि १८ गते अर्थात् फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा, कार्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा, कार्तिक १० गते छठ पर्व, मंसिर १८ गते धान्यपूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होछार, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होछार, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होछार, इदउल फित्र र बकर इद परेको दिन, फागुन १८ गते पहाडी र १९ गते तराईमा फागु पूर्णिमा र चैत १३ गते रामनवमी पर्व परेको छ ।
त्यसै गरी पर्व बिदाअनुसार साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व र सिरुवा पर्वको दिन बिदा हुनेछ । उक्त दिन सो पर्व मनाउनेका लागि मात्र बिदाको व्यवस्था गरेको छ । भदौ १० गते हरितालिका तीज र भदौ ३० गते जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा हुनेछ । माघ ९ गते सरस्वती पूजाको दिन शिक्षण संस्था, साउन २५ गते गाईजात्रा, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने दिन उपत्यकामा सार्वजनिक बिदा हुनेछ ।
दिवस बिदाअन्तर्गत वैशाख १८ गते (मे–१) मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ सहिद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन सार्वजनिक बिदा परेको छ । त्यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन र भदौ २२ गते निजामती सेवा दिवस रहेका छन् ।
यसैगरी सरकारले वर्ष २०८२ का लागि कार्यालय समय पनि तय गरेको छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय तोकिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ। शुक्रबारका दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन्।



