काठमाडौं । नेपाल वायु सेवा निगमका तीनैवटा विमान एकै पटक ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिससमेत गर्न समिति गठन गरेको हो ।
यस्तै निगमले एक हप्तायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा क्षमायाचना गरेको छ । विज्ञप्तिमा यात्रुलाई अरू कम्पनीका विमानबाट समेत गन्तव्यमा पुर्याउने काम भइरहेको र टिकटको व्यवस्था नहुञ्जेल उचित होटलवासको व्यवस्था पनि गरेको उल्लेख छ ।
नेपाल वायु सेवा निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन वटा जहाज एक हप्तादेखि ग्राउन्डेड भएका हुन् ।
माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक हप्तादेखि उतै रोकिएको छ । अर्को लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको जनाएको छ । काठमाडौंमा बिग्रिएर थन्किएको निगमको अन्नपूर्ण वाइडबडीका लागि बेलायतबाट स्पेअर पार्ट्स झिकाइएकोले चाँडै उडान शुरू हुने निगमले दाबी गरेको छ ।



