काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भएका ‘प्राइभेट प्रोग्राम’मा त्रिवि विद्यार्थी संघर्ष समितिले तालाबन्दी गरेको छ । शैक्षिक उन्नति प्रगति एवं शैक्षिक सुधारका लागि भन्दै समितिले आजबाट अनिश्चितकालका लागि प्राइभेट प्रोग्रामका कार्यालयहरुमा तालाबन्दी गरेको हो ।
समितिले कार्यालयको ढोकामा विज्ञप्ती टाँसेर माग सम्बोधन नहुन्जेल तालाबन्दी नखोल्ने बताएको छ ।
त्रिवि डिन अफिस अन्तर्गत सञ्चालित प्राइभेट प्रोग्राममा मनलाग्दी ढंगले शूल्क लिएको र विश्वविद्यालयमा दुईखाले शिक्षा लागू गरेकोमा आफूहरुको आपत्ति रहेको समितिका संयोजक सिकेन्द्र रोकायाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विश्वविद्यालयले प्राइभेट प्रोग्रामका नाममा गरेको ठगी रोक्नुपर्ने र शूल्कमा परिमार्जन गरी समान शूल्क निर्धारण गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै, प्राइभेट प्रोग्रामका विद्यार्थीहरुलाई पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समावेश गर्नुपर्ने माग समितिको रहेको छ ।
आफ्ना मागहरु पूरा नगरे वा बेवास्ता गरे कडाा आन्दोलन गर्नेसमेत विज्ञप्तीमा जनाइएको छ ।
त्रिवि विद्यार्थी संघर्ष समितिले विश्वविद्यालयबाट सञ्चालित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, द्वन्द्व, शान्ति तथा विकास, सार्वजनिक नीति, शुसासन तथा भ्रष्टाचार निवारण अध्ययन लगायतका विषयका कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन् ।
विद्यार्थी संघर्ष समितिले तालाबन्दी गरेपनि पढाइलाई भने कुनै असर नपर्ने सार्वजनिक नीति, शुसासन तथा भ्रष्टाचार निवारण अध्ययनका इन्चार्ज डा. दिपक बहादुर अधिकारीले जानकारी दिए ।
तस्वीरहरु






