काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा २६ अर्व ८४ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक बर्ष २०८१/८२ कोे पहिलो ७ महिनामा विभिन्न देशबाट ३ सय ८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो ।
जसमध्ये १ सय ७५ परियोजनामा अटोमेटिक रुटमार्फत २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा रेगुलर रुटमार्फत २ सय ११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
यस अवधिमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्क्रीप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत पनि थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक बर्षको माघ महिनामा मात्रै १ अर्ब ६ करोड रुपैयाँ बढी लगानी प्रतिवद्धता आएको छ । माघमा कुल ३२ परियोजनामा उक्त लगानी प्रतिवद्धता आएको छ । यस्तै माघमा एसपीए र एसएसएमार्फत पनि थप ९ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक बर्षको माघसम्म अर्थात ७ महिनामा नेपालमा ठुलो लगानीका जम्मा ४, मझौला लगानीका ७ र साना लगानीका ३ सय ७५ परियोजना दर्ता भएका छन् । यता माघ महिनामा भने ठुलो लगानीका परियोजना दर्ता नभएको देखिन्छ । यद्यपी माघमा मझौला २ र साना लगानीका ३० परियोजना दर्ता भएका छन् ।
विभागका अनुसार यस अवधिमा आएको कुल लगानी प्रतिवद्धतामध्ये ६५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ । जुन कुल लगानीमा १७ अर्ब ३२ करोड बराबर हो ।
यस्तै सेवा क्षेत्रमा २१ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा ८ प्रतिशत, सूचना प्रविधि र कृषि क्षेत्रमा समान ३ प्रतिशत र पूर्वाधार क्षेत्रमा न्यून मात्रै लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।



