काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आर्थिक बर्षको रोयल्टी र आरटीडीएफ गरी एकैपटक ५५ करोड रुपैयाँ बुझाएको छ।इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०÷८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको हो।
दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्नुपर्ने प्रावधान छ । यो शुल्क इन्टरनेट बिक्रीमा मात्र लाग्ने कि मर्मत सम्भार खर्चमा पनि लाग्ने भन्ने विषयमा सरकार र आइएसपीहरुबीच विवाद रहँदै आएको थियो ।
आइएसपीहरुले मर्मत सम्भार खर्चमा शुल्क नलगाउनुपर्ने अडान लिएका थिए । तर, सर्वोच्च अदालतले मर्मत सम्भार खर्चमा समेत रोयल्टी र आरटीडीएफ लागू गर्न आदेश दिएपछि भायानेटले तुरुन्तै बक्यौता भुक्तानी अघि बढाएको हो । भायानेटले त्यससँगै पछिल्लो आर्थिक वर्षको रोयल्टी र आरटीडीएफ पनि बुझाएको जनाएको छ ।
हालसम्म देशका प्रमुख २ आइएसपीले मात्र बक्यौतासहित पछिल्लो वर्षको रोयल्टी र आरटीडीएफ बुझाएका छन् । यानेटले यो भुक्तानीसँगै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतका सबै दायित्व पूरा गरेको जनाएको छ।



