images
images

चालु आर्थिक वर्षको ६ महिनासम्म देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो ?


  • 304
    SHARES
  • २०८१ माघ २१ गते सोमबार

    चालु आर्थिक वर्षको ६ महिनासम्म देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो ?

    काठामडौं ।  चालु आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय उपभोक्ता मुद्रा स्फीति बढे पनि रेमिट्यान्स, वैदेशिक विनिमय सञ्चिति बढेको देखिएको हो ।

    ६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

    चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा ४.१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको उल्लेख गरेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ र्ख ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

    पुससम्मका ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

    नेपालको विदेशी मुद्रा सञ्चिति २३ खर्ब

    नेपालको विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अवधिमा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा गत असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । ६ महिनामा १२.१ प्रतिशत बढेर पुससम्म २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा पुसमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । पुससम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

    २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

    शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा

    नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।

    विदेशमा पढ्नका जानेहरुसँगै बाहिरियो ५६ अर्ब ८३ करोड रुपैयाँ

    चालू आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    ६ महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ५ दशमलव १ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै १० प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाका लागि ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको ६ महिनामा वैदेशिक शिक्षाका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

    यसैबीच गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड  रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साढे १३ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो नेपाली इतिहासकै सबैभन्दा धेरै सञ्चिति हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति  १६ अर्ब ८४ करोड पुगेको छ ।

    आयात–निर्यात

    ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो ।आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७।१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३।१ प्रतिशतले कमी आएको थियो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।

    महँगी बढ्यो, सर्वसाधारणमा मारमा

    चालु आर्थिक वर्षको पुस महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको ४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४।६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो ।

    बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

    २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो

    २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।


    images
    images

    Logo