images
images

स्थानीयवासीको अवरोधले रोकियो महोत्तरीमा रेलमार्ग निर्माणको काम


  • 407
    SHARES
  • २०८१ माघ ११ गते शुक्रबार

    स्थानीयवासीको अवरोधले रोकियो महोत्तरीमा रेलमार्ग निर्माणको काम

    काठमाडौं । महोत्तरीको बर्दिबासमा निर्माणाधीन रेलमार्गको काम स्थानीयवासीको विरोधका कारण रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गा धनीले रेलमार्ग निर्माणको काम रोकेका हुन् ।

    जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षाैंदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीयवासी मालती खनालले बताइन् ।

    उनका अनुसार रेल विभागले सीमाङ्कनविना बोलपत्र आह्वान गरिदिँदा स्थानीयवासीको जग्गा जथाभाबी अधिग्रहण गरिएका छन् । एउटै मापदण्डमा परेका जग्गाको मुआब्जा आफूखुशी फरक–फरक दरमा दिइएको छ ।

    कतिलाई समयमै मुआब्जा दिइएको छ भने कतिलाई वर्षाैं धाउँदा पनि उपलब्ध नगराउँदा स्थानीय आन्दोलित भएका स्थानीय अगुवा नीरज अधिकारीले बताए । उनले हतारमा बोलपत्र प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको आरोप लगाए ।

    स्टेशन छेउको जग्गा २०२२ सालमा नापीले नापजाँच गरेको थियो । तर त्यति बेला लालपुर्जा लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमा नै प्रतिकट्ठा ६१ लाख रुपैयाँमा मुआब्जा वितरण भइसकेको छ । तर लालपुर्जा लिन छुटेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको स्थानीय खड्गबहादुर सिंहले बताए ।


    images
    images

    Logo