काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ वटा निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले १५ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय गरेको छ ।
यसैगरी जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।
यस्तै, समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ भने जग्गा प्राप्ती तथा अचल सम्पती अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गरेको छ ।




