काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नियामक निकायको अस्थिर नीतिका कारण शेयर घटेको ठहर गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले शेयर बजारको जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुँदा शेयर बजारमा असर जनाएको हो ।
बैंक तथा वित्तीय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनका कारण शेयर बजारमा असर परेको देखिन्छ,’ महासंघको विज्ञप्तीमा भनिएको छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन गर्न समेत महासंघले माग गरेको छ ।
महासंघले पुँजी बजारसम्बन्धी नीति नियम बनाउदा सरोकारवालासँग छलफल गर्न समेत माग गरेको छ । साथै लगानीकर्तालाई समेत विवेकपूर्ण रुपमा लगानी गर्न महासंघले आग्रह गरेको छ । विज्ञप्तीमा महासंघले कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परे तापनि नेपालको पुँंजीबजार गतिशील भई इतिहासमै सर्बाधिक राजस्व प्रदान गर्न सफल हुनुअर्थतन्त्रका लागि सकारात्मक पक्ष भएको उल्लेख गरिएको छ ।
त्यस्तै, प्रविधिको प्रयोग र बैंकिङ अधिक तरलता हुँदा लगानीकर्ताले लगानी गर्ने अवसर पाउनाले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ४५ लाख नाघेको भन्दै यसले यो क्षेत्रतर्फको आकर्षण बढ्दै गएको जनाइएको छ ।



