काठमाडौं । बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार १२ गते बुधबारसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन ।
गत बुधबारसम्म वाणिज्य बैंकहरुमा ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब निक्षेप जम्मा भएको छ । यो अवधिमा कुल ५१ खर्ब ४५ अर्ब कर्जा लगानी भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले ४५ खर्ब ५१ अर्ब तथा अन्य वित्तीय संस्थाले ५ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन । यस अवधिमसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७९.५१ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.७१ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।



