images
images

२१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


  • 400
    SHARES
  • २०८१ जेठ २८ गते सोमबार

    २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

    कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

    त्यस्तै, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यी ट्रेजरी बिल क्रमश : असार २५ गते, भदौ २५ गते र मंसिर २५ गते परिपक्व हुनेछन्। 

    यी ट्रेजरी बिलको बोलकबोल जेठ २८ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

    भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । 

    सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


    images
    images

    Logo