काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली–२०८१ मस्यौदा तयार गरेको छ । रोक्का तथा फुकुवा गर्ने सम्वन्धि व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न मस्यौदा तयार गरिएको राष्ट्र बैंकले बताएको छ ।
बैंक खाता रोक्का तथा फुकुवासम्वन्धी विनियमावली–२०८० को मस्योदा अनुसार खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का, निश्चित खाता, आशिक खाता रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण लिनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ।
सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ भने निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोहि कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ।
त्यस्तै आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने मस्यौदामा उल्लेख गरिएको छ ।
खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्ने जनाइएको छ।त्यस्तै सम्बन्धित व्यक्ति वा संस्थाका अधिकारप्राप्त अधिकारीले निबेदन दिएको अवस्थामा खाता फुकुवा हुने व्यवस्था गरिएको छ।
प्रस्तावित विनियमावलीमा केन्द्रीय बैंकले सरोकारवाला निकायहरुको रायसुझाव पनि मागेको छ। यसका लागि १५ दिनको अवधि दिइएको छ। सुझाव लिखित रुपमा वा राष्ट्र बैंकको इमेलमा पठाउन सकिनेछ।



