काठमाडौं । राष्ट्रिय स्तरका ४ वटा विकास बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । ८ वटा विकास बैंकहरुले यो अवधिमा ३ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा २.६३ प्रतिशतले कम हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेका थिए ।
यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा सांग्रीला, कामना सेवा, मुक्तिनाथ र गरिमा विकास बैंक रहेका छन् । बाँकी साइन रेसुङ्गा, महालक्ष्मी, ज्योति र लुम्बिनी विकास बैंकको नाफा घटेको छ ।

नाफा बढेका ४ बैंक
नाफा बढेका विकास बैंकहरु मध्ये सांग्रीला विकास बैंकको नाफा सर्वाधिक ८.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा २२ करोड २७ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर २४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकको नाफा पनि ३० करोड ५६ लाख रुपैयाँबाट ८.४० प्रतिशतले बढेर ३३ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा ८० करोड ६२ लाख रुपैयाँ नाफा गरेको मुक्तिनाथ विकास बैंकको नाफा पनि ८.१२ प्रतिशतले बढेको छ । यस वर्षको सोही अवधिमा बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै, गत चैतसम्ममा ६४ करोड ५६ लाख रुपैयाँ नाफा गरेको गरिमा विकास बैंकले पनि यसपटक नाफा २.४२ प्रतिशतले बढाएर ६६ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।
नाफा घटेका ४ बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा सर्वाधिक २६.९१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्ममा ४६ करोड ८१ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक ३४ करोड २१ लाख रुपैयाँमा सिमित रहेको हो ।
त्यस्तै, ज्योति विकास बैंकको नाफा पनि २४.३९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैतसम्मम २० करोड १६ लाख रुपैयाँ नाफा गरेको सो बैंकले यस पटक १५ करोड २४ लाख रुपैयाँ मात्र नाफा गर्न सकेको हो ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा ५५ करोड ४५ लाख रुपैयाँ नाफा गरेको शाइन रेसुङ्गा बैंकको नाफा यसपटक ७.१८ प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको चैतसम्ममा बैंकको नाफा घटेर ५१ करोड ४६ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको नाफा पनि १.४२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ८९ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक ३७ करोड ३५ लाख रुपैयाँमा सिमित रहेको हो ।



