images
images

५२ प्रतिशतसम्म घट्यो वाणिज्य बैंकको नाफा, ७ बैंकको मात्रै नाफामा वृद्धि


  • 772
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    ५२ प्रतिशतसम्म घट्यो वाणिज्य बैंकको नाफा, ७ बैंकको मात्रै नाफामा वृद्धि

    काठमाडौं । हाल सञ्चालनमा रहेका २० मध्ये १३ बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । वाणिज्य बैंकहरुले यो अवधिमा ४१ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा १०.६९ प्रतिशतले कम हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ४६ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेका थिए । 

    सो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । बाँकी बैंकहरु नबिल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सानिमा, कुमारी, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, प्रभु र नेपाल बैंकको नाफा घटेको छ । 

    वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा गरेको नबिल बैंकको नाफा ८.७६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा घटेर यसपटक ४ अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । 

    ग्लोबल आईएमई बैंकको नाफा यस पटक २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर ३ अर्ब ३० करोड रुपैयाँमा सिमित भएको छ । 

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३३.६१ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा उक्त बैंकले २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । 

    आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म आइपुग्दा एनआईसी एशिया बैंकको नाफा सर्वाधिक ५२.३१ प्रतिशतले  घटेको छ । गत आर्थिक वर्षको उक्त अवधिमा ४ अर्ब १ करोड रुपैयाँ नाफा गरेको बैंकको नाफा यसपटक घटेर १ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको हो । 

    माछापुच्छ्रे बैंकले पनि अघिल्लो चैत मसान्तसम्मको तुलनामा ३६.७३ प्रतिशत कम नाफा गरेको छ । २०७९/८० को चैतसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक ८५ करोड रुपैयाँमा सिमित रहेको हो ।

    त्यस्तै, नेपाल एसबीआई बैंकको नाफा ३५.४४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको सो बैंक यसपटक भने १ अर्ब १६ करोड रुपैयाँमा मात्र सिमित रहेको छ ।

    नेपालको पहिलो बैंक - नेपाल बैंकको पनि नाफा यस आर्थिक वर्षको पहिलो ९ महिनामा २६.७७ प्रतिशतले घटेर १ अर्ब ३० करोड रुपैयाँमा सिमित रहेको छ । बैंकले अघिल्लो चैतसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको थियो ।

    त्यस्तै, कुमारी बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकको नाफा क्रमशः १९.१३ प्रतिशत, १५.९० प्रतिशत, ११.५६ प्रतिशत, ७.२८ प्रतिशत, ६.२४ प्रतिशत र २ प्रतिशतले घटेका छन् । कुमारी बैंकको नाफा १ अर्ब ३० करोड रुपैयाँबाट १ अर्ब ५ करोड रुपैयाँ र सानिमा बैंकको नाफा १ अर्ब ७१ करोड रुपैयाँ बाट १ अर्ब ४३ करोड रुपैयाँमा सिमित भएको छ । त्यस्तै, एनएमबी बैंकको २ अर्ब ५६ करोड रुपैयाँबाट २ अर्ब २६ करोड रुपैयाँ, प्रभू बैंकको १ अर्ब ९५ करोडबाट १ अर्ब ८१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ६१ करोड रुपैयाँबाट २ अर्ब ४४ करोड रुपैयाँ र सिटिजन्स बैंकको १ अर्ब २३ करोड रुपैयाँबाट १ अर्ब २१ करोड रुपैयाँमा सिमित भएको छ ।

    ७ बैंकको नाफा बढ्यो

    १३ वटा वाणिज्य बैंकहरुको नाफा घट्दा पनि ७ वटाको भने नाफा बढेको छ । कृषि विकास बैंक, लक्ष्मी सनराईज बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकको नाफा यस आर्थिक वर्षको र्चैत मसान्त सम्म आइपुग्दा बढेको छ । 

    चालु आर्थिक वर्षको चैतसम्ममा प्राइम कमर्सियल बैंकको नाफा १६.६६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा २ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको हो ।

    चैतसम्ममा कृषि विकास बैंकको नाफा सर्वाधिक ९७.२३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यस पटक झण्डै दोब्बरले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । 

    त्यस्तै, लक्ष्मी सनराईज बैंकको नाफा २७.७१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । 

    सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकको नाफा क्रमशः १३.०२ प्रतिशत, १२.१० प्रतिशत, ७.५२ प्रतिशत र ५.७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यसपटक सिद्धार्थ बैंकको नाफा १ अर्ब ४९ करोड रुपैयाँबाट १ अर्ब ६८ करोड रुपैयाँ र हिमालयन बैंकको नाफा १ अर्ब ७३ करोड रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ४ करोड रुपैयाँबाट ३ अर्ब २७ करोड रुपैयाँ र एभरेष्ट बैंकको नाफा २ अर्ब ४६ करोड रुपैयाँबाट २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

    profit upto 3rd quarter.jpg
    Amount in crores


    images
    images

    Logo