काठमाडौं । वाणिज्य बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार वैशाख महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका हुन् ।
जसमध्ये सञ्चालनमा रहेका २० मध्ये १३ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। २ बैंकले व्याजदर बढाएका छन् भने ५ वाणिज्य बैंकले स्थिर राखेका छन्।
ब्याजदर बढाउने बैंकमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । जस अनुसार एभरेष्टले व्यक्तिगत निक्षेपतर्फको ब्याज ०.५ प्रतिशत बिन्दुले बढाएको छ भने एनएमबि बैंकले ०.९७० प्रतिशत बिन्दुले ब्याज बढाएको छ । यी दुई बैंकले संस्थागत निक्षेप तर्फको ब्याज पनि बढाएका छन् ।
वैशाखको लागि कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालयल बैंकले मुद्दती निक्षेपको ब्याजदर यथावथ नै राखेका छन्।
चैतको तुलनामा वैशाखमा बैंकको ब्याजदर औषतमा ०.१८ प्रतिशत बिन्दुले घटेको छ । चैतमा बैंकको ब्याज औषतमा ७.२५ प्रतिशत रहेको थियो । अहिले ०.१८ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ ।




