काँक्रेविहार । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो ।
उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८.२५ मेगावाट मात्र जोडिएको छ । हाल १० मेगावाट जलविद्युत् आयोजना कर्णालीमा उत्पादन भइसकेको छ । कर्णालीका १० जिल्लाका ५७ प्रतिशत स्थानीयले मात्र विद्युत् सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उद्योग जस्ता सेवा क्षेत्रमा विद्युत्को माग पूर्ति गर्न प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनुपर्ने मन्त्रालयका सिडिई शर्माले बताए ।
सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविद्युत् आयोजना कर्णालीमा छन् । भेरी नदी जलविद्युत् आयोजना १ सय ४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविद्युत् आयोजना ३ सय १५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविद्युत आयोजना मुगु, ७ दशमलव १ मेगावाट ताक्सुगाड जलविद्युत् आयोजना नलगाड जाजरकोट रहेका छन् ।
त्यसैगरी अपर रुरु बन्छुखोला जलविद्युत् आयोजना १९.६ मेगावाट चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविद्युत् आयोजना बरुगङ्गा हुम्ला, १ सय ३५ मेगावाटको नाम्ला खोला जलविद्युत् आयोजना मुगु, ३ सय ६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत् आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन् ।
सम्भाव्यता अध्ययनकै लाइसेन्स प्राप्त गरेका अन्य जलविद्युत आयोजनाहरु ८२.३ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना–ए, ४.७८ मेगावाटको सिस्नेखोला जलविद्युत् आयोजना रुकुम पश्चिम, ३०.२ मेगावाट रतमाखोला जलविद्युत् आयोजना रुकुम, ३० मेगावाटको सानीभेरी–३ मुसिकोट जलविद्युत् आयोजना, ६.३ मेगावाट अपर टाक्सुजलविद्युत् आयोजना जाजरकोट, एक सय ५२ मेगावाटको मुछुलिमी हुम्ला, ४० मेगावाटको पेल्माखोला जलविद्युत् आयोजना रुकुम, ६० मेगावाटको अपरसानीभेरी जलविद्युत् आयोजना रुकुम, जिल्ली चुमाइ जलविद्युत आयोजना १ सय मेगावाट कालीकोट र ३.५ मेगावाटको फेदीखोला जलविद्युत् आयोजना डोल्पा छन् ।
हाल कर्णालीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सङ्ख्या २१ वटा रहेको विद्युत् विकास विभागले जनाएको छ । ती जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन् । सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रशारण लाइन विद्युत्को राष्ट्रिय प्रशारणमा जोडिसकेको छ भने १ सय ३२ केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने १ सय ३२ केभी प्रशारण लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने माग छ ।
निर्माणाधीन जलविद्युत आयोजनाहरुमा तीन दशमलव ७५ मेगावाटको दवारीखोला जलविद्युत् आयोजना, चार दशमलव ५ मेगावाटको पदमखोला जलविद्यत् आयोजना, ४६ दशमवलव ८ मेगावाटको भेरी बबई डाइभर्सन जलविद्युत् बहुउद्देश्य आयोजना, चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना, एक सय ६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना र ४ सय २६ मेगावाटको फुर्कोट कर्णाली जलविद्युत् आयोजना रहेका छन् ।
त्यसैगरी बेपन कर्णाली सञ्चयकत्र्ता जलविद्युत् आयोजना चार सय ३९ मेगावाट, माथिल्लो कर्णाली जलविद्युत् आयोजना नौ सय मेगावाट, मुुगु कर्णाली जलविद्युुत् आयोजना एक हजार नौ सय २ मेगावाट, तिला–१ जलविद्युुत् आयोजना चार सय ४० मेगावाट, तिला–२ जलविद्युुुुुुत आयोजना चार सय २० मेगावाट, भेरी–१ जलविद्युुु्ुुत आयोजना दुई सय ७० मेगावाट जाजरकोट, हुम्ला कर्णाली–१ जलविद्युत् आयोजना दुई सय ३५ मेगावाट निर्माणाधीन अवस्थामा छन् ।
हुम्ला कर्णाली–२ मेगावाट जलविद्युत् आयोजना तीन सय ४५ मेगावाट, मुगु कर्णाली जलविद्युत् आयोजना एक सय ५९ मेगावाट, सानीभेरी–३ जलविद्युत् आयोजना ४९ मेगावाट, रुरुबच्छुखोला–२ जलविद्युत् आयोजना १२ मेगावाट, अपर लोहरेखोला ४ मेगावाट, सानीभेरी जलविद्युत् आयोजना ४४ मेगावाट, भेरी नदी जलाशय जलविद्युत् आयोजना तीन सय मेगावाट र सुपरचुवाखोला जलविद्युत् आयोजना ९० मेगावाट आयोजना निर्माणधीण अवस्थामा छन् ।
४०० केभी प्रसारण लाइन भेरी करिडोरमा
जाजरकोट नलगाडको दानी पीपलदेखि सुर्खेतको मेहलकुना सम्म चार सय केभी प्रशारण लाइन निर्माण कार्य अघि बढेको छ । सव स्टेशनका लागि जग्गा खरिद भई मुआब्जासमेत वितरण भइसकेको छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
दानीपिपलमा नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत आयोजनाको विद्युत् जम्मा गरेर नेशनल ग्रिडमा जडान गर्ने लक्ष्य छ । जाजरकोटका स्थानीय समेत रहनुभएका उर्जामन्त्री बस्नेतले कर्णालीमा रहेका जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटाउनुपर्ने चुनौती रहेको बताए ।
कर्णालीमा विद्युत् उत्पादन क्षमता धेरै भएकाले सबैको ध्यान अहिले कर्णालीमा रहेको मन्त्री बस्नेतको भनाइ छ । केही समययता सुर्खेतदेखि नेपालगञ्जसम्म विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ ।



