images
images

'निजी विद्यालय छाडेर हाम्रो विद्यालयमा आउने धेरै छन्' (भिडियो सहित)

राम हाडा, प्रधानाध्यापक/प्राचार्य, श्रीपद्म माध्यामिक विद्यालय/श्रीपद्म कलेज, भक्तपुर


  • 911
    SHARES
  • २०७८ भाद्र १७ गते बिहीबार

    'निजी विद्यालय छाडेर हाम्रो विद्यालयमा आउने  धेरै छन्' (भिडियो सहित)

    भक्तपुरको दरबारक्षेत्रस्थित श्रीपद्म माध्यामिक विद्यालय जिल्लाकै सबै भन्दा पुरानो र मुलुकभरमा चौथो पुरानो विद्यालय हो । प्लेग्रुपदेखि कक्षा १२ सम्म, नेपाली र अंग्रेजी माध्यममा पढाइ सञ्चालन गर्दै आएको विद्यालयले सीटीईभीटीको सम्बन्धनमा नौ देखि १२ कक्षासम्म इन्जिनियरिङ कक्षा समेत सञ्चालन गर्दै आएको छ । त्यसैगरी, श्रीपद्म कलेजमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धनमा स्नातक र स्नातकोत्तरसम्मको पढाइ हुन्छ । 

    सो विद्यालय/कलेजको नेतृत्व विगत लामो समयदेखि राम हाडाले गर्दै आएका छन् । गुणस्तरीय अध्ययन अध्यापन लगायतका अतिरिक्त क्रियाकलापमा समेत मुलुकभरीमै अब्बल रुपमा रहेको प्रमाणित गरिसकेको विद्यालयलाई सरकारले नमूना विद्यालय घोषणा गरेको छ । पछिल्लो एक दशक यता निजी विद्यालयमा छाडेर श्रीपद्म माध्यामिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्या बढ्दो छ । यो कसरी सम्भव भयो त भन्ने विषयमा केन्द्रित रहेर  प्राविधिक तथा व्यवसायिक विद्यालय समाज नेपालको केन्द्रीय अध्यक्षसमेत रहेका हाडासँग नेपाल अर्थका पेशल आचार्य र दिवस गुरागाइँले गरेको संवादको सार संक्षेप :

    तपाईंको विद्यालय राणाकालमा स्थापना भएको भक्तपुरकै पहिलो विद्यालय मानिन्छ, यसको इतिहासबारे संक्षेपमा बताइदिनुस् न !

    वि.सं. १९८१ मा तत्कालिन भक्तपुरका शिक्षासेवी युवाहरुले भक्तपुरको दत्तात्रयमा कक्षा २ सम्मका कक्षाहरु सञ्चालन हुनेगरी भादगाँउ स्कुलको नामबाट यो स्कुलको सुरुवात भएको थियो । पछि तत्कालिन युवा समाजसेवी आध्याचरण जोशी, विष्णुभक्त भुजु लगायतको अगुवाइमा सो विद्यालयलाई श्रीपद्म हाईस्कुलका नामबाट विस्तार गर्दै  क्रमशः कक्षा ७, ८, ९, १० को पढाइ सञ्चालन भएको देखिन्छ । विसं. २००३ सालमा विष्णुचरण राय र सूर्यमान विजुक्छे श्रीपद्म हाइ स्कुलको नामबाट पहिलो पटक प्रवेशिका परिक्षामा सहभागी भएका थिए । 

    २०६० सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ को सम्बन्धन प्राप्त गरी २०६३ देखि व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रका सम्पूर्ण विषयको पढाइ हुन थालेको थियो । २०६७ भदौ २९ गते त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेर विद्यालयले बीबीएस कक्षा सञ्चालन ग¥यो । २०७० पुस १० गते त्रिभुवन विश्वविद्यालयबाट पुनः एमबीएसको सम्बन्धन प्राप्त गरि एमबीएस कक्षा सञ्चालन भएको हो ।

    सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने आम धारणा छ, श्रीपद्मले कसरी निजी विद्यालयसँग प्रतिस्पर्धा गरिराखेको छ ? 

    हामीले विद्यार्थीको क्षमता र चाहना अनुसार नेपाली र अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दै आएका छौं । हाम्रा कक्षाकोठा, त्यहाँका भौतिक संरचना निजी विद्यालय भन्दा कम छैनन् । निजी विद्यालय जस्तै हाम्रो विद्यालयमा प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजीको पढाइ हुन्छ । त्यहाँ पढाउने शिक्षक–शिक्षिकालाई समय समयमा मन्टेश्वरी लगायतका तालिमको व्यवस्था गरिएको छ । विद्यार्थीलाई खेलाउँदै पढाउने देखि खाजा खाने व्यवस्था समेत विद्यालयमै मिलाइएको छ । विद्यालयको शैक्षिक गुणस्तर अझ उच्च राख्न विद्यालय व्यवस्थापन समितिको पनि त्यतिकै भूमिका छ । 

    निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नतिजा कसरी सम्भव भयो त ?

    प्राविधिक सँगसँगै हाम्रो विद्यालयमा अध्ययनरत साधारण धारतर्फका विद्यार्थी पनि उत्कृष्ठ नतिजा ल्याउँदै आएका छन् । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतबाट समय समययमा दिने निर्देशन, शिक्षा ऐन २०५९, शिक्षा निमावली २०५९,  शिक्षक सेवा आयोग राष्ट्रिय शिक्षा आयोग राष्ट्रिय शिक्षा बोर्डबाट दिएका  निर्देशन पालना गरेर अगाडि बढेको अवस्था छ  । तालिम प्राप्त शिक्षकले प्रविधिको प्रायोगमार्फत अध्यापन गराउँने, कडा अनुशासन, व्यवहारिक किसिमले पढाउँने गरिएका कारण पनि राम्रो नतिजा आएको हुन सक्छ । 

    नमुना विद्यालय कसरी भयो र त्यसका आधारहरु के के हुन्, र त्यसबाट के फाइदा भएको छ ?

    शिक्षा विभागबाट नमूना विद्यालयका लागि प्रस्ताव आह्वान भएको थियो । हामीले प्रस्ताव पेश ग¥यौं । शिक्षा विभागबाट एसएलसी उतीर्ण प्रतिशत, विद्यार्थी सङ्ख्या र भौतिक पूर्वाधार आदिका आधारमा हाम्रो विद्यालयलाई सरकारले नमुना विद्यालयको रुपमा छनौट ग¥यो । नमूना विद्यालय घोषणासँगै सरकारले दिने बजेटमा वृद्धि भएसँगै हामीले शिक्षाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गरेका छौं । तपाईंले देख्नुभएको नतिजा त्यसैको परिणाम हो । नमूना भएसँगै विद्यालयमा सीसी क्यामेरा राखिएको छ । प्रविधिमा जोड दिएर आधुनिक ढंगले पठनपाठन अघि बढाइएको छ । शैक्षिक सामग्रीको व्यवस्थापन र सरसफाइको  व्यवस्थापन गर्दै अएका छौं । 

    Ram-hada2.jpg

    भौतिक पूर्वाधारको कुरा गर्नुभयो, २०७२ सालको भुकम्पले क्षति पु¥याएको भवन त अझै निर्माण भएको छैन नि ? 

    तपाईले भन्नुभएको पनि ठीकै हो । हाम्रो विद्यालय दरबार क्षेत्रभित्र पुरातात्विक क्षेत्रमा पर्ने भएकोले स्थायी पूर्वाधार निर्माणको काममा केही ढिलाइ भएको हो । त्यति ढिलाइ हुँदाहुँदै पनि हामीले अस्थायी संरचना बनाएर भएपनि विद्यार्थीलाई भौतिक पूर्वाधारले सम्पन्न बनाएका छांै । नक्सापासमा केही ढिलाइ भएका कारण स्थायी भौतिक संरचना निर्माणमा पनि ढिलाइ भएको हो । छ महिनाअघि मात्र विद्यालयमा अव बन्ने संरचनाको नक्सापास भएको छ ।

    अब सोही नक्सा अनुसार हामी विद्यालयका संरचना निर्माण गर्नेछौं । त्यसतर्फ विद्यालय व्यवस्थापन केन्द्रित भएको छ ।

    नक्सापासमै भएको ढिलाइका कारण विद्यालयको भवन निर्माणमा आएको करोडौं रुपैयाँ त्यतिकै फ्रिज भयो भनिन्छ नि ?  

    मैले अघि पनि भने, हाम्रो विद्यालय दरबारक्षेत्र, पुरातात्विक क्षेत्रभित्र पर्छ । सोही कारण पुरातात्विक नक्सा नहुँदा नक्सा पासमा ढिलाइ भएका कारण विद्यालय भवन निर्माणका लागि आएको रकम त्यतिकै फ्रिज भएको हो । गत पुसमा मात्र हाम्रो नक्सापासको काम सकिएको छ । अब हामी हाम्रो नाममा रहेको ३२ रोपनी जग्गामा  केही वर्षभित्रै व्यवस्थित भौतिक संरचना निर्माण गर्नेर्छौ । त्यसका लागि हामी लागि परेका छौ । 

    अब कति लागतका कतिवटा भवन बनाउने तयारी गर्दै हुनुहुन्छ त ? 

    पुरातात्विक ठाउँमा  पुरातात्विक ढंगबाट विद्यालय भवन निर्माण गर्नेगरी हामीले नक्सा पास गरेका छौ । हाम्रो विद्यालयको मुल भवनको उत्तरतर्फ खाली जग्गामा तीनवटा भवन निर्माण गर्न लागेका छौ । १८ करोड ५० लाख रुपैयाको लागतमा निर्माण हुने भवनमा मेन ब्लक, क्यान्टिन ब्लक, होस्टेल ब्लक रहनेछन् । स्रोत पहिचानको लागि नेपाल सरकारलाई हामीले अनुरोध गरेका छौं । त्यसैगरी केही दातृ निकायलाई पनि हामीले अनुरोध गर्दैछौ । 

    थप भौतिक संरचनापछि शैक्षिक गुणस्तरमा थप के सहयोग पुग्छ ? 

    अहिले हाम्रो पहिलो प्राथमिकतामा रहेको तीनवटा भवन बनेपछि विद्यालय भौतिक पुर्वाधारले पूर्ण हुन्छ । त्यसबाट पढाइका अलवा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समेत थप मदत पुग्छ । ठुला हलको अभावमा हुन नसकेका कार्यक्रम विद्यालय भित्रै नियमित रुपमा सञ्चालन गर्न सकिने छ । त्यस्ता कार्यक्रम सञ्चालन विद्यालयको अध्ययन अध्यापनका अलवा अतिरिक्त क्रियाकलापमा समेत उल्लेख्य प्रगति हुनेमा म विश्वस्त छु । 

    पछिल्लो डेढ वर्षदेखि कोरोनाका कारण विद्यालय सञ्चालन हुन सकेको छैन, विद्यार्थीको पढाइ कसरी हुँदै आएको छ ? 

    कोरोना महामारी शुरु हुने बित्तिकैदेखि हामीले प्रविधिको प्रयोग गरेर जो विद्यार्थी जहाँ छन्, त्यहीँबाट पढ्न सक्ने गरी अनलाइन कक्षा सञ्चालन गरिराखेका छौ । हाम्रो विद्यालयमा ७० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययन गर्ने भएकाले पनि महामारीका समयमा समेत पढाई सञ्चालन गर्न अनलाइन कक्षा सञ्चालन गर्न जरुरी ठानेर हामीले नियमित रुपमा पढाइ सञ्चालन गर्दै आएका हौं । कोभिडको महामारीले गर्दा अनलाइन कक्षा सञ्चालन गरेका छौं । म र सहायक प्रिन्सिपल सरले नियमित अनुगमन गर्ने गर्छौ । प्ले गु्रपदेखी युकेजीसम्मलाई भौतिक उपस्थिति गराएर गृहकार्य लिने दिने गरेका छौ ।

    सिभिल इन्जिनियरिङको पढाइ भइराखेको छ भन्नुभयो । त्यसको नतिजा कस्तो छ त ? 

    प्राविधिकतर्फ सिभिल इन्जिनियरिङ कक्षा २०७१ साल देखि सञ्चालनमा आएको छ । कक्षा ९ , १०, ११ र १२ मा सञ्चालन भएको सिभिल इन्जिनियरिङमा हाम्रो विद्यालयले मुलुकभरिबाटै सबैभन्दा उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ । राम्रो नतिजा ल्याएकै कारण पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुर, उत्तरमा दार्चुलादेखि दक्षिणमा सप्तरीसम्मका विद्यार्थी हाम्रो विद्यालयमा अध्ययनका लागि आउने गर्छन् । 

    गुणस्तर चाहिँ कसरी राम्रो बनाउँदै हुनुहुन्छ ? 

    नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित रही राम्रो पाठ्यवस्तु र उपयुक्त शैक्षिक सामग्रीको प्रयोेग, विद्यालय व्यवस्थापन र विद्यार्थी अनुकुल वातावरण बनाएर सिकाइ उपलब्धिको मापन गरी विद्यार्थीको व्यवहारिक ज्ञान, सिप र क्षमतालाई मुल्याङ्कन गरेर गुणस्तर राम्रो बनाउँदै गएको अवस्था छ । त्यसका लागि तीनवटा प्रयास गरेका छौ ।

    पहिलो प्रयास स्थानीय तहमा भएका बिना बजेटले प्राप्त  हुने कम मुल्यको शैक्षिक सामग्रीको प्रयोग । दोस्रोमा कार्यरत कर्मचारी शिक्षक र सुहाउँदो पाठ्यपुस्तकका आधारमा  तालिम गोष्ठी छलफलबाट पुनर्ताजगीकरण गरी विद्यार्थीलाई ज्ञान प्रदान गर्ने । र तेस्रो, विद्यालयको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राम्रो गुणस्तर भएका विद्यालय कलेज तथा विश्व विद्यालयमा समन्वय गरेका छौं । र ती विद्यालय कलेज तथा विश्व विद्यालयमा समन्वय गरेका शिक्षक प्रशिक्षकको अनुगमन र सुझाव र अन्तरक्रियाबाट यस विद्यालयको गुणस्तर राम्रो बनाउन हामी क्रियाशील छौ । 

    शिक्षक विद्यार्थीको संख्या कति छ नि ? 

    शिक्षक १ सय २ जना र विद्यार्थी १६ सय जनाको हाराहारीमा छन् । र कक्षा ११ र स्तातक तहको भर्ना भर्खर खुलेको हुनाले विद्यार्थीको संख्या तत्काल थपिने अवस्था छ ।

    अन्यत्र सरकारी विद्यालय छाडेर विद्यार्थी निजीमा जाने गर्दछन्, यहाँ निजी विद्यालय छोडेर विद्यार्थी आइरहेका छन् भनिन्छ, कसरी सम्भव भयो ?

    हामीले शिक्षालाई रोजगारमुखी र  जीवनउपयोगी बनाउने प्रयत्न गरेका छौं । देशकै चौथो जेठो विद्यालय र भक्तपुरको पहिलो ऐतिहासिक विद्यालयमा १० वर्षदेखिनै निजी विद्यालयका विद्यार्थी आउँछन् र हाम्रो चुनौती पनि यही हो । 

    निजी विद्यालयहरु छोडेर हाम्रो सरकारी विद्यालयमा विद्यार्थी आइरहेको कारण यहाँका भौतिक पुर्वाधार व्यवस्थापन र शैक्षिक उपलब्धि र अतिरिक्त क्रियाकलापको राम्रो व्यवस्थापन र निःशुल्क प्रशिक्षण हो ।  र हामीले विद्यार्थीको रुचि चाहना र आवश्यकता अनुसार अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराउँछौ । सिर्जनात्मक सीपको विकास गराउनु हाम्रो चाहना हो  ।

    Ram-hada3.jpg

    नजिता कस्तो छ ?

    विगत ५ वर्षदेखि यहाँ अध्ययन गर्ने विद्यार्थीको एकदमै राम्रो छ  । कमजोर र फेल हुने विद्यार्थीहरुलाई पनि अविभावकको भेला राखेर १० बजे अगाडि अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । हाम्रो लक्ष्यनै कमजोर विद्यार्थीलाई कसरी अघि बढाउने भन्ने हो । 

    विगतमा जस्तै गणित र विज्ञानमा उच्चतम अंक ल्याउने गरेर हामी अगाडि बढेका छौ ।  यो वर्षको एसईईमा पनि एक सय १२ जना विद्यार्थी मध्ये १३ जनाले जीपीए ४ ल्याएका छन् ।  ५६ जनाले ए–प्लस ल्याएका छन्  भने २० जनाले बी ल्याएका छन् । 

    अहिले करिब ७० वटा जिल्लाका विद्यार्थीहरु यहाँ पढ्छन् । ५ वर्षभित्र अझै विद्यार्थी थपिन्छन् भन्ने विश्वास छ । यहाँका विद्यार्थी एसएलसीको बोर्डहरुमा पनि धेरै पटक आएका थिए । गणितमा देशभरिकै उत्कृष्ठ र विज्ञानमा जिल्लाको उत्कृष्ठ भएर मेडलहरु पाइरहेका छौं । वि.सं. २०५७, २०५८ र २०५९ मा लगातार ऐच्छिक गणितमा शतप्रतिशत आएर जिल्ला विकास समितिबाट सम्मान पाएका थियौं ।  

    कक्षा ११ मा कस्ता कस्ता विद्यार्थीलाई भर्ना लिनुहुन्छ । छात्रवृत्तिको व्यवस्था के छ ? 

    कक्षा ११ को लागि  सिभिल इन्जिनियरको ९ र १० मा ३.५ जीपीए आएका लाई इन्ट्रान्स लिएर भर्ना गर्छौ । र बाँकी विषयका एसईई उतीर्णलाई भर्ना लिन्छौं ।  

    हामीकहाँ छात्रवृत्तिको योजना पनि छ । साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस प्रथम वर्षमा पनि भर्ना गर्ने जमर्को गरेका छौ । हाम्रो विद्यालयमा अन्त कक्षा ९ सम्म पढेर कोभिडको कारण पढ्न छुटेका र पढ्न नपाएकाहरुलाई १५ दिनसम्मका लागि पुनः भर्ना खुलाएका छौं ।

    ११ मा भर्ना भइ छात्रवृत्ति लिन चाहने विद्यार्थीलाई तीन चरणमा छुट्याएर छात्रवृत्ति दिने व्यवस्था गरेका छौं । पहिलो, नगरपालिकास्तरीय, जिल्लास्तरीय र राष्ट्रियस्तरबाट छात्रवृत्ति पाएका ३ प्रतिशतलाई विद्यालयले छात्रवृत्ति दिने व्यवस्था गरेको छ । दोस्रो, हाम्रो विद्यालयमा आएका जीपीए ३.९ भन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई एउटा परीक्षा लिएर सो आधारमा ६० प्रतिशत भन्दा बढी छात्रवृत्ति दिन्छौं । र, तेस्रो विद्यालयमा उत्कृष्ठ अंक प्राप्त गरेका, सहिद परिवारका वा दलित समुदायका विद्यार्थीलाई पनि हामीले छात्रवृत्ति दिने गरेका छौं । दुर्गम ठाउँमा भएकालाई एक सीट छात्रवृत्ति छुट्याएका छौं । 

    त्यस्तै, भक्तपुर जिल्लाभित्रै रहेका विद्यार्थीलाई पनि परीक्षाका आधारमा २५ देखि ५० प्रतिशत छुट दिन्छौं । अहिले छात्रवृत्ति नपाएका विद्यार्थीलाई पनि विद्यालयको आन्तरिक परीक्षापछि अंक हेरेर छात्रवृत्ति दिने व्यवस्था पनि गरेका छौं ।


    पेशल आचार्य
    आचार्य नेपालअर्थ डटकमका अध्यक्ष हुन् ।


    images
    images

    Logo