काठमाडौं । वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड १७ घण्टादेखि अवरुद्ध बनेको छ । वर्षाका कारण हिजो साँझ ६ बजेदेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्डमा आज बिहानदेखि साना सवारी साधनहरु एकतर्फीरुपमा सञ्चालनमा आए पनि ठूला सवारी साधन भने सञ्चालनमा आउन नसकेको हो ।
आइतबार परेको सिमसिमे पानीका कारण पूर्वी नवलपरासीतर्फको दाउन्नेस्थित त्रियासी मोड र पश्चिम नवलपरासीको एसमोडमाथिको सडक अवरुद्ध भएको हो । राजमार्गको सडक विस्तारका क्रममा बनाइएको डाइभर्सनमा नयाँ माटो राखेका कारण पानीले हिलो बनाउँदा सडक अवरुद्ध भएको हो ।
सडक पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा पूर्व, पश्चिम जाने सयौं यात्रु दुम्किवास, बर्दघाट र दाउन्नेमा अलपत्र परेका छन् ।