images
images

काभ्रे–हेटौँडा जोड्ने सबैभन्दा छोटो बाटो स्तरोन्नतिको काम सुरु


  • 392
    SHARES
  • २०८० फाल्गुण १८ गते शुक्रबार

    काभ्रे–हेटौँडा जोड्ने सबैभन्दा छोटो बाटो स्तरोन्नतिको काम सुरु

    काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ । गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो । 

    छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    बिपी राजमार्ग र हेटौँडा जोड्ने मदनभण्डारी राजमार्गसम्म जोड्न पहिलो चरणमा रोशी गाउँपालिकाको पिन्थली हुँदै रजबास–भूमिचूली–बुढाखानी–तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तीव्र गतिमा अढि बढिरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गलाई हेटौँडासम्म सडक सञ्जालमा जोड्नका लागि हाल जनमुक्ति मार्गअन्तर्गत तीन चरणमा काम भइरहेको छ ।

    महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किमी सडक कालोपत्र भएको श्रेष्ठले जानकारी दिए ।

    उक्त सडक स्तरोन्नतिका लागि ६० करोडमा ठेक्का सम्झौता भएपछि काम थालिएको थियो । समपूरक अनुदानतर्फ चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट २० करोड र प्रदेश सरकारबाट २० करोड विनियोजन गरिएको थियो । 

    कार्यालय प्रमुख श्रेष्ठका अनुसार तीनखुट्टेदेखि देविटार सडक कालोपत्रका लागि चालु आवमा चार करोड बजेट विनियोजन भएको छ । त्यस्तै महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि–घर्तीछाप–गोकुलेसम्मको करिब १० किमी सडक स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए । ३९ करोडमा निर्माण हुने उक्त सडक खण्डका लागि चालु आवमा सात करोड बजेट विनियोजन भएको हो । 

    महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका जनमुक्ति मार्गअन्तर्गत गाउँपालिकाभित्रको करिब ३५ किमी सडक स्तरोन्नतिको काम भइरहेको छ । उनले उक्त मार्गको अन्य खण्डमा पनि धमाधम काम भइरहेको भन्दै तीनखुट्टेदेखि देविटारसम्मको कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरबाही गरेकाले ढिलाइ भएको बताए ।

    अध्यक्ष जिम्बाले निर्माण व्यवसायीलाई ताकेता गरेर हाल तीनपक्षीय सहमति गरिएकाले काम चाँडै सुरु हुने जानकारी दिए । उनका अनुसार गाउँपालिका कार्यालय, पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीबीच १० बुँदे सहमति गरी पुनःकाम सुरु गरिएको छ । 

    “समयसीमा सकिन लाग्दा निर्माण व्यसायीले लापरबाही गरेपछि तीन पक्षबीच १० बुँदामा सहमति गरेर काम सुरु गरिएको छ”, जिम्बाले भने । कार्यालयले उक्त मार्ग काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गाबाट मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको चार किमी सडक स्तरोन्नतिका लागि स्रोत सुनिश्चितता भएकाले प्रक्रिया थालिएको जनाएको छ । 

    काभ्रेपलाञ्चोकतर्फ बिपी राजमार्गदेखि पिन्थलीसम्मको करिब आठ किमी, महाभारत गाउँपालिकाको गोकुलेबाट खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गासम्मको करिब ११ किमी सडक र मकवानपुरतर्फ झुरझुरे–भोर्लेनी–सिक्रेदोभान करिब १३ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । 


    images
    images

    Logo