काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष निकालेको छ । विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरान उपमहानगरमा प्राविधिक कारण सम्भव नभएको निष्कर्ष निकालेको हो ।
सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ ।
“सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वन वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



