काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाएकाे छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका जलविद्युत् आयोजना प्रवर्द्धकलाइ विद्युत् व्यापार विभागमा निवेदन दिन आग्रह गरेकाे हाे ।
प्राधिकरण सञ्चालक समितिकाे ९६३ औं बैठकले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय गरेकाे थियाे । प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमताका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) आयाेजना र पीपीए भइसकेका आयाेजनाहरूकाे हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पीपीएकाे सीमाकाे अधिनमा रहनु नपर्ने जनाएकाे छ ।
साना लगानीकर्तालाई प्रोत्साहन गर्न पीपीएकाे सीमाकाे अधिनमा नरहने गरी ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएका वा हुने आयाेजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयाेजनाहरूलाई 'लिउ वा तिर' प्रावधानमा विद्युत् खरिद बिक्री सम्झौता गरिने सूचनामा उल्लेख छ ।




