images
images

सात महिनामा ८ खर्ब ९७ अर्बको सामान आयात, निर्यात ८६ अर्ब मात्रै


  • 455
    SHARES
  • २०८० फाल्गुण ९ गते बुधबार

    सात महिनामा ८ खर्ब ९७ अर्बको सामान आयात, निर्यात ८६ अर्ब मात्रै

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनीक गरेको आर्थिक वर्ष २०८०/८१ को माघसम्मको आयात निर्यात विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको हो । 

    विभागका अनुसार चालू आवको ७ महिनामा नेपालले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ वस्तु आयात गरेको थियो । यो गत आवको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो । 

    त्यसैगरी निर्यात पनि घटेको छ । चालू आवको माघ मसान्तसम्म नेपालले ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँबराबरको निर्यात भएको थियो । 

    माघसम्म नेपालको कुल वैदेशिक व्यापार भने ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँबराबर भएको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ थियो । यो गत आवको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो ।  


    images
    images

    Logo