काठमाडौं । मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका मार्गमा विगतमा सामान्य मर्मतसम्भार गर्दै आए पनि पछिल्लो तीन आर्थिक वर्षदेखि भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र भैँसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ खण्डको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आएको छ । भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड अन्तर्गत मकवानपुर र काठमाडौँको सिमाना हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको करिब ११ किलोमिटर सडक हाल तीन वटा प्याकेजमा काम भइरहेको छ ।
तीन वटा प्याकेजमध्ये काठमाडौँतर्फ हुमाने भन्ज्याङ–लामागाउँसम्मको पहिलो प्याकेजको चार किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सकिएको छ । दोस्रो प्याकेज अन्तर्गत लामागाउँदेखि खार्पाखोलासम्म करिब साढे तीन मिलोमिटर सडकको कालोपत्रे गर्न बेस हाल्नेलगायतको काम भइरहेको छ ।
हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्डको सडकको चौडाइ आठ मिटर रहेकामा त्यसमध्ये छ मिटर चौडा कालोपत्रे हुने छ । प्रदेश राजधानीलाई सङ्घीय राजधानी जोड्ने सडक जीर्ण भएकाले सर्वसाधारणसँगै प्रदेश सभा सदस्यसमेतलाई आवागमनमा समस्यासँगै भएको भन्दै प्रदेश सभाको पहिलो कार्यकालको सुरुवातीदेखि प्रदेश सभाका सदस्यले प्रदेश सभाको बैठक र सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए ।
प्रदेश सभा सदस्य र सर्वसाधारणको निरन्तरको दबाबपछि बागमती प्रदेश सरकारले भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र भैँसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकमा ठुलो लगानी गरी स्तरोन्नति कार्य अगाडि बढाएको हो । हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको सडक छिटो स्तरोन्नतिको काम सम्पन्न गर्न तीन वटा प्याकेजमा ठेक्का लगाइएको थियो तर पहिलो प्याकेज र दोस्रो प्याकेजको कामको २०७९ साउनमा एक वर्षभित्रमा कालोपत्रेसहित सडक स्तरोन्नति गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकामा तोकिएको समयमा काम पूरा नभएपछि म्याद थप गरिएको थियो ।



