काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । मंगलबार वर्ल्ड इकोनोमिक आउटलुक २०२४ सार्वजनिक गर्दै कोषले नेपालको बारेमा उक्त प्रक्षेपण गरेको हो ।
नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतको बीचमा हुने जनाएको थियो । सरकारले बजेटमार्फत् भने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ ।
आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फिति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर सफ्ट ल्यान्डिङतर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् । साथै, उनले अर्थतन्त्र विस्तार सुस्त भएको जनाउँदै अगाडि बाधाहरू हुनसक्ने उल्लेख गरे ।
वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा ३.१ प्रतिशतले वृद्धि हुने जनाइएको छ । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र ४.६ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने देखाएको छ ।
सन् २०२४ मा नेपालको मुद्रास्फिति दर ६.७ रहने प्रक्षेपण गरिएको उक्त रिपोर्टमा जनाइएको छ । बजेटमा नेपाल सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ ।



