images
images

अर्थतन्त्रमा कत्ति पनि सुधार आएको छैन : नेपाल उद्योग परिसंघ


  • 396
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    अर्थतन्त्रमा कत्ति पनि सुधार आएको छैन : नेपाल उद्योग परिसंघ

    काठमाडाैं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा कत्ति पनि सुधार नआएको भन्दै सरकारी आंकडालाई चुनौती दिने गरी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । ​​​

    परिसंघका अध्यक्ष राजेश अग्रवालले सोमवार सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ दशमलव ९३ प्रतिशतले मागमा संकुचन आएको बताए । सर्वेक्षणका अनुसार ५४ प्रतिशतले व्यवसाय विस्तार गर्ने योजना त्यागेको र सबैभन्दा बढी धरासायी निर्माण क्षेत्र बनेको उनले जानकारी दिए ।

    'सरकारले अर्थतन्त्रको वास्तविकताबारे सही जानकारी दिएको छैन । हामीले गरेको सर्वेक्षणले अर्थतन्त्रमा कत्ति पनि सुधार देखिएको छैन', उनले भने ।

    त्यस्तै सीएनआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रबारे सरकारले बाह्य क्षेत्रको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र सुधार भएको भनी गरेको दाबी वास्तविक तथ्याङ्क र विश्लेषणसँग मेल खाएको छैन ।'​

    परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।​

    परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो ।

    ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो । यो चालू आर्थिक वर्षको सोही अवधिमा थप १२ दशमलव ०६   प्रतिशतले घटेको देखिएको छ।

    उक्त सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६ दशमलव ९३  प्रतिशतले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४ दशमलव ९४  प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको समान अवधिमा थप ७ दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा कूल ३० दशमलव ५४ प्रतिशतले खुम्चिएको छ ।

    अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको हाम्रो बुझाइ रहेको छ ।​

    क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७ दशमलव ३६  प्रतिशतले संकुचा आएको छ । अघिल्लो वर्षको सोही समयमा यो ४० दशमलव १७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४ दशमलव ५७   प्रतिशतले गिरावट आएको देखिन्छ ।​

    यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९  प्रतिशतले संकुचन आएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा थप ९ दशमलव ५४  प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४ दशमलव ८२  प्रतिशतले संकुचन आएको देखिएको छ ।​

    परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३ दशमलव ३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ दशमलव ५०  प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।

    निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६ दशमलव २०  प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३ दशमलव ४३  प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२ दशमलव ५९  प्रतिशतले संकुचन आएको पाइएको छ। यसैगरी यस क्षेत्रका उ‌द्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३ दशमलव ७१  प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २० दशमलव ८०  प्रतिशतले घटेको देखिन्छ ।

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५ दशमलव ४२  प्रतिशतले संकुचन आएको देखिएको छ । यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३ दशमलव ३३  प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३ दशमलव ८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।

    अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २ दशमलव ५०  प्रतिशतले बढेको थियो तर यस वर्ष १७ दशमलव ७०  प्रतिशतले गिरावट आएको देखिएको छ । 

    यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५ दशमलव ६४  प्रतिशतले संकुचन आएको देखिएको छ । यसैगरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२ दशमलव २५   प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १८ दशमलव ५०  प्रतिशतले घटेको देखिन्छ ।

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८९ मा समग्र कारोबार रकममा ८ दशमलव ५२  प्रतिशतले संकुचन आएको छ । सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ दशमलव ६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन् ।


    images
    images

    Logo